साढे १२ हजारले घट्यो सुनको मूल्य

काठमाडौँ — सुनको मूल्य क्रमिक रुपमा ओरालो लागेको छ । ४ महिनामा प्रतितोला साढे १२ हजार रुपैयाँ घटेको छ । बिहीबार सुनको भाउ प्रतितोला ९३ हजार रुपैयाँमा झरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा १ हजार रुपैयाँले मूल्य घटेको हो ।२०७८ फागुन २५ गते प्रतितोला १ लाख ५ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा ४ महिनाअघि प्रतिऔंस २०५० डलरसम्म पुगेको सुनको मूल्य अहिले १६९० हाराहारीमा झरेको छ । रुसले युक्रेनमाथि आक्रमण थालेसँगै सुनको भाउ बढेको थियो । चाँदीको मूल्य पनि क्रमिक रुपमा ओरालो लागेको छ । बिहीबार प्रतितोला ११५५ रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबारको तुलनामा यो १० रुपैयाँ सस्तो हो । गत फागुन २५ गते चाँदी प्रतितोला १४५० रुपैयाँसम्म पुगेको थियो ।

Similar Posts